जीवनका मोडहरूमा अनेकौँ यात्रीहरू आए गए तर ऊ... ऊ... मुटुभन्दा प्यारो छ। उसलाई जति अँगालो हाले पनि मुटुको कुवा भरिँदैन, जति चुम्बन गरे पनि मनको प्यास बुझ्दैन। म अनुगृहीत हुन्छु ऊप्रति र कहिले नतमस्तक हुन्छु किनकि ऊ नहुँदो हो त यो नीरश जीवन अझ कति कहालीलाग्दो हुँदो हो, यो कठिन जीवनयात्रा अझ कति उराठ र बोझिलो हुँदो हो। त्यसैले त भावनाहरूमा गुटमुटिएर म उसैलाई अँगाल्छु, मुसार्छु र चुम्छु। उसलाई लिएर प्रेमसाथ मन लागेको ठाउँमा घुम्छु। म उसैसित रुन्छु अनि उसैसित हाँस्छु। किनकि ऊ नै मेरो दुःख हो, ऊ नै मेरो सुख हो, ऊ नै मेरो सर्वस्व अनि जीवनको एउटै सहारा हो।
भन्नेहरू उसलाई लौरो भन्छन् तर म अन्धोका लागि ऊ मेरो जीवनपथ हो।
***
मधुपर्क लघुकथा अङ्क २०५६ बाट साभार।
प्रस्तुति-कुमुद अधिकारी